अनकन्टार पहाडको ओसिलो चट्टानबाट
तप्प तप्किएको 'म एक थोपा पानी'
पिलपिल, पिलपिल गर्दै बगिरहेका
सयौँ थोपाका साथ अघि बढ्दै
हजारौँ, लाखौँ, करोडौँ थोपासँग ठोक्किदै, लठारिँदै
गन्तव्यहीन यात्रामा लुरुलुरु हिँडिरहेको
'म एक थोपा पानी'
कहिले अग्लो छहराबाट हामफाल्दै, चिच्याउँदै
कहिले समतल धर्तीमा शान्तसँग अघि बढ्दै
खहरे र खोल्साका भेलहरूसँग मिसिँदै
बिशाल नदीको बीचमा आई वरिपरि नियालिरहेको
'म एक थोपा पानी'
अनगिन्ती भुमरीहरूमा फनफनी घुम्दै,
रन्थनिँदै अघि बढ्ने बाटो खोजी तड्पिदै
कयौँ चक्कर घुमेपछि, छाल आएर फुत्त धकेल्दा
फेरि नयाँ आशा बोकेर, खन्च्याङ, खन्च्याङ गर्दै
अघि बढिरहेको
'म एक थोपा पानी'
थाहा छैन अन्तिम गन्तव्य कुन हुनेछ ?
पत्तो छैन बेगले कुन दिशातिर बगाउनेछ ?
कयौँ पहरा र चट्टानहरूसँग टक्राउँदै,
साँघुरा खोँचहरूमा कोचिएर निसासिँदै
अघि बढ्ने हिम्मत जुटाउन सोच्दै टोलाइरहेको
'म एकथोपा पानी'
थाहा छ कुनैदिन यतैकतै बिलीन हुनसक्छु
सुख्खा बगरतिर हुत्तिएर, बालुवामा हराउन सक्छु
टट्यानपुर घामले पोलेर वाफ बन्न सक्छु।
दौडदा, दौडँदै चकनाचुर भई टुक्रिन सक्छु।
र पनि महासागर चुम्ने सपना देखिरहेको
'म एक थोपा पानी'
करोडौँका बीचमा तैरिइरहेको गणनाहीन छु म
गढगढाउँदै बगिरहेको नदीभित्र अस्तित्वहीन छु म
तर चट्टान फोर्ने बेगमा थोरै बल लगाउँदै
नदीको चर्को गर्जनमा मलिन आवाज मिसाउँदै
निराशाका अन्धकार रात छिचोल्दै
नियतीले जता डोर्याउँछ त्यतै बगिरहेको
'म एक थोपा पानी'
केदार गौतम २०८१
No comments:
Post a Comment