१ पहिलो भेट हुँदा
तिमीलाई भेट्दा कसम, आफ्नै जस्तो ठानेँ मैले
मेरै निम्ति भगवानले पठाएको मानेँ मैले
कहिले कहीं नजर त अन्त पनि लाथें कतै
अन्त दिल बसेन भो, तिमीलाई नै छानेँ मैले
थाहै नपाई दिलभित्र तिमी आई बस्यौ प्रिय
माया गरी दिल्मा सजाई गाँठो पारी बानेँ मैले
नशालु ती तिम्रा आँखा मलाई हेर्दै टोलाउँथे
छक्डे पार्दै एक नजर तिमी तिर हानेँ मैले
अनयासै आँखा जुध्दा लाज मानी मुस्कुराउँथ्यौ
तिमीले नी मलाई माया गर्छौ भनी जानेँ मैले
२ माया बसेपछि
कोपिलै छ सुन्दर फूल फल लागि पाक्न गाह्रो
तिम्रो माया अपार भो सम्हालेर राख्न गाह्रो
एक्कैदिन नदेख्दा नी मन हुन्छ छटपटी
सधै भेट्न आउ भनी तिमीलाई डाक्न गाह्रो
सँगै ज्यूने, सँगै मर्ने बाचा कसम तिम्रा मेरा
नटुटाई दुई मुटु प्रेम यात्रा हाक्न गाह्रो
अजम्बरी प्रेम हाम्रो दुनियाँलाई डाह लाग्ने
आँखा लाउने वैरी धेरै छोप्न अनि ढाक्न गाह्रो
३ शंका बढ्न थाल्यो
अचेल तिमी टाढा-टाढा भए जस्तो गर्छौ किन ?
बाटो हिड्दा देखे पनि लुक्दै ओझेल पर्छौ किन ?
जीवनभरि साथ दिन्छु भन्ने बाचा गरेकी थ्यौ
तिम्रै भर परेको छु, मेरो खुसी हर्छौ किन ?
तिम्रै लागि बाँचेको हुँ, धेरै माया गर्छु भन्थ्यौ
मेरो माया लत्याएर अहिले पछि सर्छौ किन ?
तिमीलाई हेरि रँहु लाग्छ भनी खुसी हुन्थ्यौ
आजकाल त भेट्दा पनि, ठुस्की आँखा तर्छौ किन ?
४ छाडी गएपछि
हाँसी-हाँसी विदा माग्दै मेरो साथ छोड्यौ प्रिय
सँगै यात्रा गर्छु भनी अहिले बाटो मोड्यौ प्रिय
सिम्रिकको रङ जस्तै गाढा हाम्रो साइनो भन्थ्यौ
यति छिटै टुट्यो हरे कस्तो नाता जोड्यौ प्रिय
तिम्रै हुँ म भन्दै कसम खान्थ्यौ तिमी घरी-घरी
विश्वासमा लात हानी बाचा कसम तोड्यौ प्रिय
मनभरी गहिरो घाउ बनाएर टाढा भयौ
कोमल् मेरो मुटुलाई कठोर बनी फोड्यौ प्रिय
५ गहिरो पीडामा
छिटै सुक्ने खहरेको भेल रैछ तिम्रो माया
सकुनीको पासा जस्तै झेल रैछ तिम्रो माया
तिमी बिना मर्छु भन्दै पिछा गर्यौ व्यर्थै किन ?
ढाँटी-ढाँटी स्वार्थ लुट्ने खेल रैछ तिम्रो माया
आफ्नै सोची मन दिएँ, मुटुभित्र छुरा हान्यौ
तड्पाएरै थुनी राख्ने जेल रैछ तिम्रो माया
मेरो जस्तै चोखो माया गर्छौ, ठानी भर परें
स्वार्थ र अवसरको मेल रैछ तिम्रो माया
६ मन बुझाएपछि
घात गर्ने निष्ठुरीलाई सम्झिएर रुन्न अब
उनकै यादमा तड्पी-तड्पी आँसुले मुख् धुन्न अब ।
भेट हुँदा चिन्जान हाम्रो थिएन झैँ गरेपछि
आफ्नै सोची मरिहत्ते गर्नु मैले हुन्न अब ।
खहरेको भेल्झैँ उनको, माया रैछ देखावटी
उनले देका उपहार प्रिय ठानी छुन्न अब
विवसता र बाध्यताका जति कथा बुने पनि
केबल उनका वहाना ती, चाहान्न म सुन्न अब
उनी बिना सासै मेरो रोकिने त हैन क्यारे
छाड्छु म भो उनलाई सम्झी मीठा सपना बुन्न अब
No comments:
Post a Comment