Menu

मनको संसार




कथा

‘संसारमा सबैभन्दा छिटो दौडने तत्व मन’ हो यो एउटा पौराणिक कथन मात्र नभएर शाश्वत सत्य पनि हो ।

 त्यसैले मेरो मन पनि बेतोडले दौडिन्छ । बिगत जीवनका ऐतिहासिक पन्ना पल्टाउने क्रममा स्मृतिको पन्ना त्यहाँ गएर रोकिन्छ, जहाँ जिन्दगीको अविस्मरणीय क्षण लुकेको छ । 

जुन क्षणको स्मरणले  मेरो बाहिरी मन चसक्क दुख्दछ । जब मेरो भित्री मनले उक्त समयको सम्झना गर्छ भित्रभित्रै हाँसो उठ्छ र  अनौठो पनि लाग्छ । स्मरणको बाढी जब चल्छ तब बिगत जीवनका घटना आँखा वरिपरि घुम्न थाल्छन् ।

कक्षामा अन्तिम पिरियड पढ्दा जहिले पनि पढाइमा त्यति ध्यान कुनै विद्यार्थीको जादैनथ्यो । दिनभरिको पढाइको बोझ र भोकले गर्दा कहिले ४ बज्ला अनि घरतिर बाटो तताउँला भन्ने धारणा सबै विद्यार्थीको हुन्थ्यो । 

जब छुट्टीको घण्टी लाग्यो ।बाँकीभोली पढौँला भन्दै शिक्षक निस्कनुभयो । बाख्राका बथान खोरबाट निक्ले जसरी विद्यार्थी ठेलाठेल गरेर निस्कन थाले । बाहिर निस्कने भीड सिद्धिनै लाग्दा म पनि निस्केँ । ढोकाबाट चार–पाँच पइलाअगाडि बढेपछि ‘राजु’भनी कसैको आवाज आयो । आवाज आएतिर आँखा लगाएँ । 

चीरपरिचित साथी सुशिलाले आफूतिर आउने इसारा गरिन् । म उनको अगाडि दाखिला भएँ । किताबको माझबाट खाम निकालेर मलाई दिँदै भन्न थालिन्–आउदै गरेको विजया दशमीको शुभकामना ल, यो चाहीँ करुणाले दिएकी । ‘तिमीलाई पनि मेरो शुभकामना, अनि खै त करुणा र पार्वती ? मैले उसका प्रतित्तर र जिज्ञासा एक्कै पटक प्रकट गरेँ । सुशिलाले उाीहरुभएतिर इसारा गरिन् । करुणा र पार्वती अगाडि गइसकेका थिए । सुशिलाले मसिनो स्वरमा कानेखुसी गरिन्–ए सुन त यो तिमी एक्लैले हेर्नु ल ! यसमा करुणाले...। पछाडिबाट एउटा केटा साथीले सुन्दै गरेको थाहा पाएर उनको बोली रोकियो । म केही बोलिन् । मनमनै उसको आग्रहमा सहमति जनाएँ।

मनमा खुल्दुली बढ्यो । एक्कै छिन्अघिको कक्षाको घटना याद आयो । शिक्षक पढाइ रहँदा चार–पाँच जना केटीहरुको समूह पछिल्लो बेञ्चमा बसेर खासखुस गर्दै थिए । करुणा कापीमा केही लेख्दै थिइ । शिक्षकको आँखा पुग्यो । छिटो–छिटो गएर भन्न थाल्नुभयो–पढाइमा ध्यान नदिएर के गरि रहेका?खै कापीमा के लेखेको ?

शिक्षक र छात्रा समूहका बीचमा कापी खोसाखोस भायो । आखिर चार–पाँच जना छात्राहरुको अगाडि शिक्षकको केही जोड चलेन छ क्यार छोडिदिनिुभयो । कापीमा लेखेका एक–दुई अक्षर पढ्न भ्याउनु भएछ । गाली गर्दै भन्नुभयो “बदमासहरु पढाइ भइरहेकाबेलामा अटो भरेर बस्ने ? बरु पढ्न मन नभए नआए कक्षामै नबसे हुन्छ ।मैले अड्कल लगाएँ–पक्कै तिनीहरुले लेखेको कुरा यहीँ खामभित्र छ ।  

सुशिला, करुणा, पार्वती र म एकदमै मिल्ने घनिष्ठ मित्र थियौँ । एउटै कक्षामा पढ्ने र स्कूल आउदा–जाँदा प्राय सँगै हिड्ने गरिन्थ्यो । सहयोग आदान–प्रदान, चाडपर्व र उत्सवहरुमा शुभकामना आदान–प्रदान  गर्ने प्रचलन सामान्य थियो । त्यसैले करुणाले शुभकामना पत्र दिनु नौलो थिएन  ।

अरु नै मार्फत दिन लगाएको र एक्लैले हेर्नु भनेकाले बाटोभरी कौतुहल भइरह्यो । 

कसैलाई नपर्खी सरासर घरतिर लागेँ । घरमा गएर तत्काल खाम खोलेर हेरेँ । राम्रो चित्र भएको गे्रटिङ कार्ड रहेछ , त्यसको खाली भागमा लेखिएको थियो–आउदै गरेको विजयादशमीको शुभकामना..........पठाउने : करुणा .....पाउने : राजु ...आदि। 

खै त कसैलाइ देखाउन नहुने कुरा के नै छ र? छ्या त्यो सुशिला पनि कस्ती कसैलाइ नदेखाउनु रे !  उसको कुरा सम्झेर गाली गर्न मन लाग्यो । यसबाहेक अरु केही छ त ? भन्ने सोचेर खामभित्र हात हाली हेरेँ । साँच्चै खामको भित्री कुनामा पट्याएर सानो परिएको कागजको टुक्रा फेला पारेँ । खोलेर पढ्न थालेँ 

प्यारो साथी राजु 

 जिन्दगीको गोरेटोमा यात्रा गर्दैगर्दा कहिलेदेखि तिमीसँग एकदमै नजिक हुन पुगेछु थाहै छैन । म तिमीलाई यति धेरै माया गर्छु की जसको म बखानै गर्न सक्दिन । म तिमीलाई जिन्दगीभरि आफ्नो बनाउन चाहान्छु । दिनरात तिम्रो  सम्झनामा हराउने गर्छु । त्यसैले यो जिन्दगी तिमीसँगै समर्पण गर्न चाहान्छु । मलाई विश्वास छ तिमीले मेरो भावना बुझ्नेछौ र मेरो मायालाई सम्मान गर्नेछौ ,पत्रको जवाफ तुरुन्त लेख्नु ल...यस्तै–यस्तै धरै कुरा लेखिएको थियो 

उहि तिमीलाई धेरै माया गर्ने  

करुणा 

पढिसकेर कागज कसैले नभेट्ने ठाउँमा लुकाएँ औपचारकि रुपमा थाहा नभए पनि करुणाका हरेक व्यवहारले म बुझ्दथेँ–ऊ मसँग नजिक हुन चाहान्छे । मसँग पे्रमको साइनो जोड्न चाहान्छे । तैपनि यसलाई बेवास्ता गरिदिन्थेँ । उसले मप्रति गरेका हरेक व्यवहार एउटा घनिष्ठ साथी बीचको व्यवहार सम्झन्थेँ । आफ्नो मनको चाहना व्यक्त गर्ने सहास गरेकोमा मनमनै उसलाई धेरै धन्यवाद दिएँ ।

 म तत्काल उसलाई कुनै जवाफ पठाउने पक्षमा थिइन । म उसको प्रस्तावलाई यसर्थ स्वीकार गर्न सक्दिनथेँ की उसलाई कहिल्यै त्यो नजरले हेरेको थिइन एउटा घनिष्ठ साथी मात्र सोच्थेँ । फेरि मेरा ती साथी  मध्येकी पार्वतीलाई अत्यन्तै मन पराउँथे । उसलाई आफ्नो बनाउन चाहान्थेँ । म उसलाई यति धेरै माया गर्छु जस्तो लाग्थ्यो, सायद करुणाले मलाई गरेको भन्दा कयौँ गुणा बढी । यदि उसको प्रस्तावलाई ठाडै अस्वीकार गरेँ भने हाम्रो मित्रता त भङ्ग हुन्छ नै करुणाको हृदयमा ठूलो चोट पर्ने सम्भावना थियो । 

म आफ्नो कारणबाट कोही दुःखी भएको हेर्न चाहान्नथेँ । निकै दिनसम्म बेवास्ता गरी दैनिक कार्यमा व्यस्त भएँ । विद्यालय आउने जाने क्रम उही थियो । शिक्षक उहि , विद्यार्थी उही । फरक के थियो भने करुणा मेरो नजिक पर्न रुचाइन सायद लाज लागेर होला । म करुणाको प्रतावलाई अनुमोदन गर्न असमर्थ थिएँ । निकै अगाडिदेखि पार्वतीलाई मनमा सजाएर राखेको थिएँ । थाहा थिएन पार्वतीले मेरो चाहाना अनुकूल मलाई आफ्नो बनाउन चहान्छे कि चाहान्न, मेरो चोखो मायालाई स्वीकार गर्छे कि गर्दिन । तर म सोच्दथँे पार्वतीबिना बाँच्न सक्दिन । मनको कुरा पार्वतीलाई भन्ने पक्षमा थिएँ । तर भन्ने साहस गरेको थिइँन । मैले सोचेँ–म कुनै हालतमा करुणाको प्रस्तावलाई स्वीकार गर्न सक्दिन मनमा जति कुरा खेलाए पनि मैले उसको पत्रको जवाफ नपठाएर उसलाई कौतुहलताको भुमरीमा डुबाएर उसमाथि अन्याय गरेको थिएँ ।

आखिर एक न एक दिन करुणालाई निराश पार्नु पर्ने छँदै छ । त्यसको लागि किन ढिला गर्ने भन्ने सोच जब मनमा आयो, तत्काल कागजमा आफ्नो भावना यसरी उतारेँ

प्यारी मित्र करुणा मनभरिको माया  

साच्चै म तिमीलाई एकदमै माया गर्छु तर एउटी प्रेमिकाको रुपमा नभई एउटा हितैसी मित्रको रुपमा । तिमीले मप्रति दर्शाएको मायाको भावलाई धेरै धन्यवाद दिन्छु । तर के गर्नेे जीवनमा कहिले पनि सोचेको जस्तो हुदो रहेनछ । मत एउटा बाटोमा फूलेको पलास जस्तै हुँ जुन सुगन्धबिहीन हुन्छ । म जस्तो दुःखी मान्छेलाई आफ्नो बनाएर के नै पाउछौ र? 

फेरि मेरो मनमा तिमीलाई जीवन भरका लागि आफ्नो बनाउने सोच नै छैन मेरो कुरालाई नराम्रो नमान्नू । एउटा साथीको नाताले जीवनका हरेक मोडमा आउने सुख दुःखमा सक्दो सहयोग गर्न तयार  छु....यस्तै आदि ।

उहि तिम्रो मिल्ने साथी 

राजु 

कागजको टुक्रा पट्याएर सानो पारी खल्तीमा राखेँ । एकदिन स्कूलबाट घर फर्कदा करुणाको हातमा थमाइ दिएँ । र आफ्नै सुरमा लागेँ ।

भोलिपल्ट स्कूल जानु त छँदै थियो गएँ । तर करुणाको दयनीय अनुहार दखेर उसको मनमा ठूलो चोट परेको अनुमान लगाउन सकिन्थ्यो । धेरै रोएजस्तो आँखा सुन्निएका थिए । भर्खरै भुत्लाभुत्ली गरेर आएजस्तो कपाल पनि छरपस्ट थियो । सधैँ चुलबुल गर्ने चञ्चले स्वभाव भएको मान्छे, निराश अनुहार बनाएर स्कूलको चौरमा एक्लै घोत्लिएर बसेको देखेर एकजना केटी साथीले–के भयो करुणा सन्चो छैन हो ? भनेर सोधेको कुरा नजिकै बसी उनीहरुलाई नदेखेजस्तो गरी सुनिरहेँ । 

अब मलाई करुणाको कुनै वास्ता भएन । म आफ्नो पढाइलगायत दैनिक कार्यमा व्यस्त भएँ । तीन–चार दिनसम्म पनि करुणाको अनुहार जस्ताको तस्तै रह्यो । कक्षामा प्रश्न सोध्दा पनि आउदैन भन्ने, कसैसँग बोल्न मन नगर्ने, गृहकार्य नगर्ने, जुनसुकै बेला झोक्राएर बस्ने क्रियाकलाप जारी रह्यो । कति चोटी  त शिक्षकले बेस्सरी हपारे । बेञ्चमा मुन्टो अड्याएर आँखाभरि आँसु पारी मलाई हेरिरहने उसको आँखा जब मेरो आँखामा ठक्कर खान्थे तब उ मुन्टो बटारेर अर्कातिर फर्कन्थी । 

यतिका दिनमा पनि परिवर्तन नभएको उसको अनुहार देखेर माया लाग्न थाल्यो । मनमा तर्क उठ्न थाले–मेरो कारणले गर्दा ऊ यति दुःखी भएकी छ । यदि मैले उसको प्रस्तावमा समर्थन गरेको भए उ फुरुक्क हुने थिइ, गृहकार्य गर्ने थिइ, शिक्षकको गाली खान्नथी, मेरा लागि यति धेरै तड्िपने मान्छेलाई म किन माया नगरूँ ? करुणा म सधँैभरि तिम्रै हुँ, भो अब चिन्ता मान्नु पर्दैन । भनौँ जस्तो लाग्यो । तर म त्यसो भन्न सक्दिनथेँ किनकी म पार्वतीको एकोहोरो मायामा फसेको थिएँ । 

पार्वतीबाहेक अरुसँग प्रेमको साइनो गाँस्ने कल्पना गर्नु मेरा लागि असम्भव थियो । फेरि पार्वतीले मेरो प्रेमलाई स्वीकार गर्छे कि गर्दिन थाहा थिएन । केही महिना अघिको सपनाको याद आयो–पार्वती अर्कै केटासँग अङ्गालो मारेर हाँस्दै हिँडिरहेकी थिइ । मैले उसलाई बेस्सरी बोलाएँ  तर उ सुनेको नसुन्यै गरेर हिँडी । म आफ्नो बाटो लागेँ ।  त्यतिखेर मनमा ठूलो चोट परेको थियो । मेरो चोट त्यतिखेर निको भयो, जतिखेर म निन्द्राबाट ब्यूझिएँ ।

 तर आजसम्म मेरा कयौँ सपना सत्य साबित भएका छन । पार्वतीले मलाई माया गर्छे भन्ने कुनै निश्चित छैन । त्यसैले करुणालाई त्यति धेरै तड्पाएर राख्नु भन्दा उसैसँग मायाको बन्धन कसे हुन्छ । यस्ता सोचाइले मनमा हलचल मच्चाउँछ  । त्यतिखेर आफ्नोे मनको कुरा पार्वतीलाई भन्ने दृढ निश्चयमा पुग्छु ।  यदि पार्वतीले मेरो मायालाई स्वीकारिनन् भने मेरो हृदयमा ठूलो चोट त पर्छ तर करुणाको मायालाई सम्मान गरेर उसको मनमा लागेको चोटलाई निको पार्नेछु ।

यति निष्कर्ष मनमा बाधेर पार्वतीलाई जति सक्यो छिटो मनको कुरा खोल्ने प्रयत्नमा लाग्छु । प्रत्येक दिनजसो सँगै हिड्ने भए पनि सिधै–म तिमीलाई माया गर्छु पार्वती’ भन्ने आँट थिएन त्यसैले पत्र लेख्नु बाध्यता थियो । 

मनभरिको मायालाई सङ्गालेर  पत्र कोर्न थालेँ 

पार्वती म तिमीलाई धेरै  माया गर्छु ,तिमीलाई जिन्दगी भरि आफ्नो बनाउन चाहान्छु । तिमी बिनाको जीवन कल्पना गर्न नसक्ने भएको छु , तिम्रो उज्यालो अनुहार , तिम्रा हरेक क्रियाकलाप र बानीब्यहोरा मेरा लागि सह्रनीय छन । हुन त केटी मानछेहरू सुन्दरता र धन सम्पत्तिका अत्यन्त  लालसी हुन्छन भन्ने सुनेको छु , म सँग तिमीलाई हर्दम खुसी राख्नका लागि प्रशस्त सम्पत्ति छैन तर तिमीले मलाई माया दियौ भने तिम्रो भावनालाई सजाएर राख्ने बिशाल मन छ । मेरो प्रस्तावलाई स्वीकार नगरे पनि म बाट टाढा नहुनु ल ......

यस्तै धेरै कुरा लेखेर खल्तीमा राखेँ, दुई–तीन दिनसम्म दिने मौका मिलेन । म चाहान्थेँ यो कुरा कसैलाई थाहा नहोस् । एक दिन स्कूलबाट घर फर्कदा पार्वती र म मात्रै भयौँ। त्यही मौका पारेर पट्याएर सानो पारी राखेको कागज उसको हातमा दिएँ । त्यतिबेला निकै अप्ठेरो लाग्यो । त्यसैले उ सँग नहिडी अगाडि दौडिएँ । ऊ मैले दिएको कागज खल्तीका हाल्दै बिस्तारै आउँदै थिइ ।

 उसको जवाफका लागि लामो समय कुर्नु परेन । भोलिपल्टै स्कूलबाट घर फर्कदा धेरै साथीहरुका साथमा पार्वती र म पनि थियौँ । जहाँ करुणा, सुशिलालगायत थुप्रै थिए । सबैको आँखा छल्दै पार्वतीले एउटा कागजको टुक्रा मेरो हातमा दिइ । मैले पनि कसैले नदेखोस् भनेर झटपट खल्तीमा राखेँ । मनमा खुल्दुलीको बाढी चल्यो । 

उसले जतिखेर कागज मेरो हातमा दिइ त्यति बेलाको उसको  अनुहारले मैले अनुमान लगाएँ की–ऊ मेरो प्रस्तावमा सहमत छैन । उसको आँखामा मायाको होइन सहानुभूतिको भाव झल्किन्थ्यो । तैपनि यथार्थ भावना पत्रमै छ । त्यसैले थोरै आशा राख्नुबाहेक मेरो बिकल्प रहेन । 

पत्रमा के लेखेको छ ? मेरो मायालाई स्वागत अथवा तिरस्कार ? सकारात्मक जवाफ पाएमा के हुन्छ ? नकारात्मक जवाफको परिणाम मेरा लागि के हुन्छ ? यस्तै सोच्दा–सोच्दै घरमा पुगियो । घरमा आएर पुस्तक थन्क्याइ कपडा फेरेँ वरिपरि हेरेँ कोही पनि थिएन ।

हतपत  कागज खोलेर पढ्न थालेँ । झिनु आशा लिएर पत्र पढ्न थालेको थिएँ पढि सक्दा त्यो झिनो आशा पनि समाप्त भएर मनमा निराशाको कालो बादलले ढपक्क ढाक्यो । संसार अँध्यारो भएझैँ लाग्यो । दोहो¥याएर मात्र होइन । तीन–चार पटक नै पढेँ । 

जतिपढे पनि उही शब्द, उही अक्षर, उही भाव–मनमा पार्वतीले पत्रमा लेखेका कुरा घुम्न थाले–राजु यदि तिमीबाहेक अरु कसैले यस्तो पत्र पठाएको भए । मैले अर्कै व्यवहार गर्थेँ । यो उमेरमा आएपछि एउटा साथीको खोजी यो मनले गर्दो रहेछ । तर अहिले हाम्रो पढ्ने बेला हो । म तिमीलाई एउटा साथी मात्र मान्न सक्छु । फेरि तिमी बिना बाँच्न सक्दिन भनेका रहेछौ । कृपया त्यसो नभन । मैले माया नगरे पनि करुणाले त तिमीलाई माया गरिहाल्छे नी.... 

मलाई करुणाको होइन तिम्रो मायाको खाँचो छ भनेर चिच्याउन मन लाग्यो । रिसको भाव पैदा भयो । ‘उसले पढ्ने बेला हो भनेर मलाई सिकाउनु पर्छ ? पढाइको धाक लगाउने ? के पढाइमा म ऊ भन्दा कमजोर छु र ? उसले मलाई पढ्नुपर्छ भनेर सिकाउने ?’ घुर्की देखाउन मन लाग्यो ।

कागजलाई च्यातेर सयौँ टुक्रा पारेँ । अब चाहेर पनि त्यसको एउटा अक्षर पढ्न सकिँदैनथ्यो ।  कतै सपना होकि भनेर ब्यूँझने कोसिस गरेँ तर सपना थिएन । जिन्दगीको सारा कुरा समाप्त भएझैँ लाग्यो । अगाडिका दिनमा जब म मृत्युको कल्पना गथेँ, त्यतिखेर पार्वतीको हँसिलो अनुहार आँखामा झुल्किन्थ्यो । तर आज मृत्युका लागि कुनै अवरोध नभएझैँ लाग्यो । भित्र–भित्रै रोएँ । थाहै नपाई आँखाबाट आँसुका  धारा बगेछ । सञ्चो छैन भनेर सुतेँ । रातभरि थोरै मात्र निदाएँ । धेरैजसो समय गहिरो सोच र विरहमा बिताएँ । मनमा चोट छँदै थियो । निराशाको भाव यथावत थियो । तै पनि कसैले शंका नगरोस भनेर दिनहँु जस्तैगरी खाना खाएर स्कूल गएँ । पार्वतीको अनुहारमा हेर्न मन लागेन । करुणाको अवस्थाप्रति कुनै चासो भएन । अगाडिका दिनमा कति सजिलै सोचेको थिएँ–पार्वतीले मेरो  मायालाई स्वीकारिनन् भने करुणालाई भनिदिनेछु, ‘म तिम्रो मायालाई स्वागत गर्छु’ तर यतिखेर यस्ता सोचाई कता हराए थाहै भएन । 

खाली यति मात्र सोचाई थियो–पार्वतीले भनेका कुरा झुटो होस् र उ जीवनभरि आफ्नो होस । सोचेँ जस्तो कहाँ हुन्छ र ? म कक्षामा घोत्लिएर बसिरहन्थेँ । कसैले के भयो भनेर सोद्धा केही भएको छैन भनेर टारीदिन्थेँ । पढ्न मन थिएन, तै पनि अरु दिनको भन्दा व्यवहारमा परिवर्तन ल्याउन चाहिन । परिवर्तन थियो त केबल मनमा थियो । 

मेरो चाहाना थियो मेरो उदास अनुहारको भाव केबल पार्वतीले बाहेक कसैले नबुझोस् । घरमा पनि के भयो ? भनेर पटक–पटक सोधिन्थ्यो । केही भएको छैन , भनेर टार्दै गएँ तर विश्वास गरेनन् खाना खान मन नगर्नु, जतिखेर पनि घोत्लिएर बस्नु, बेलुका चाँडै सुत्नु, पढ्न मन नगर्नु आदि क्रियाकलापले मेरो मनको पीडालाई उजागर गरेको थियो । 

म कुनैपनि हालतमा सत्य कुरा बताउन सक्दिनथेँ । त्यसैले जति सोधे पनि उही जवाफ दिन्थेँ–केही भएको छैन । केहि त भएको छ । नत्र भने किन यसरी झोक्राएको ? भनेर सोध्थे । मेरो एउटै जवाफले होला त्यति जोड गरेनन् । 

दिनहरु जति बिते पनि  मनको घाउ निको भएन झन् भित्रभित्रै बल्झिएर शरीरलाई क्षण बनाउन थाल्यो । ज्वरो आएर थलिएजस्तो अनुभव भयो । आफ्नो जीवन आफैँलाई बोझ लाग्यो । उसको त्यो पत्र पाए देखि नै आधा रातमा ब्यूँझिएर मनका तरङ्गलाई मस्तिष्कका कुना–कुना सम्म पु¥याएर सोचिरहने बानी प¥यो ।

बाटोमा पार्वती र मेरो भेट भयो । उसले उज्यालो अनुहार पार्दै भनी–राजु तिमी यति धेरै चिन्ता नगर । अब पुग्यो म तिमीलाई सधैँ मया गर्छु । आजदेखि हामी दुवै जीवनका हरेक मोडमा आउने दुःख सुखको सामना गरेर सँग–सँगै बाचौँला । म यो जुनी मात्रै होइन सयौँ जुनीसम्म तिम्रै हुनेछु । 

यस्ता मधुर वाणीसँगै उनको कोमल हातले मेरो आँसु पुछिदिइन् । तर म अझै रोएँ यो आँसु भने दुःखको नभई हर्षको थियो । पार्वतीको अनुहारमा आँखा दौडाएँ । 

उसको आँखामा पनि आँसु थियो । मेरो आँसु पुछ्न छोडेर एक्कासी उसले मलाई आफ्नो अङ्गालोमा बाँधी अनि रञ्चे स्वरमा भन्नथाली, ‘मेरो राजु मलाई कहिल्यै नछोड ल ?’ अनि मैले भनेँ–पार्वती तिमीले पनि मलाई जीवनमा यति धेरै कहिल्यै नतड्पाउनू । अङ्गालोबाट अलग्गिएर मेरो अनुहारमा हेरी मुसुक्क मुस्कुराई । उसको मुस्कान त्यही थियो सधँैको जस्तो, जुन  धेरैअघिका दिनमा मेरा लागि सम्झिएर सुनौला सपना बुन्ने आधार थियो । हिजो अस्तीका दिनमा त्यही मुस्कान सम्झिएर रोइरहेको हुन्थेँ । उसको यो मुस्कानले जिन्दगीमा पहिलो पटक धेरै खुसी भएँ, किनकी त्यो मुस्कान सदाका लागि मेरो निकट भएको छ । 

 मनमनै सोचेँ, ‘भगवान यो कतै सपना नभइदियोस् ।  मेरो मनको ढुकढुकी पार्वतीसँगको मीठो मिलन साँच्चै सपना त्यतिखेर साबित भयो, जतिखेर घरनजिकै आएर कराएको लाटोकोसेरोको नमीठो आवाजले मेरो निन्द्रा  खुल्यो। 

वास्विक जीवनमा मेरोसामु पार्वती थिइन । म एक्लै ओछ्यानमा पल्टेको थिएँ । फेरि निदाउन कोसिस गरेँ । यानिकी अघिको सपना फेरि दोहोरियोस् तर सपना दोहोरिएन । सपना आखिर सपना नै हुन्छ । सपनाको घटना सम्झिएर झन बढी पीडा हुन थाल्यो । भित्र–भित्रै यति रोएँ? आँखाबाट बगेको  आँसुले सिरानी भिजेछ । साँच्चिकै सुक्क–सुक्कको आवाज आयो ।

 तत्काल सोचेँ–हत्तेरी रोएको कसैले सुने भने  के भन्नु ? रुवाइलाई केबल मनभित्रै सीमित राखी मनमनै शून्यतामै कुरा गर्न लागेँ–म अब कति दिन तिम्रो सम्झनामा तड्पिएर बाँच्नु ? तिमीले लत्याई सकेको मेरो मायालाई मनमा राखेर कति दिन रुनु ? तिमी मेरो आफ्नो त नहुने भइसक्यौ तैपनि म तिमीलाई किन बिर्सन सक्दिन ? अब म यहाँ भन्दाबढी पीडा सहेर बाँच्न सक्दिन । मैले बाँच्नुको कुनै अर्थ छैन तिमी हाँसी खुसी रहनु पार्वती मलाई अब बाँच्ने रहर छैन । यतिखेर मर्न पाए कति आनन्द हुने थियो होला ? । म मनभित्र सजिएर रहेको पार्वतीको तस्वीरसँग कुरा गरिरहेको थिएँ । 

सोचाइको क्रम आगाडि बढ्दै गयो । जब म यो संसारबाट टाढा हुन्छु, पार्वतीको आँखाबाट एक थोपा आँसु झर्दैन होला किनकी म उसको कोही पनि होइन । तर मेरा आफन्त, बुबाआमा पक्कै रुने छन् । मबाट उनीहरुले ठूलो आशा गरेका होलान  । निकैबेर दिमागमा केही आएन । एकाएक म झस्किएँ–अरे म किन मरू ? जस्लाई मेरो कुनै मतलब छैन ऊ आफ्नो भइन भनेर उसैका लागि किन मर्नु ? के म एक जना केटीको यादमा तड्पिएर मर्नकै लागि जन्मिएको हुँ र ? 

एकाएक मनमा अनौठो सोच आयो । म उसका लागि मात्रै पक्कै बाँचेको होइन । उसले मलाई माया नगर्दैमा मेरा सारा शुभन्चिन्तकहरुले मलाई माया मारेका छन् र? मेरो बुबा, आमा, घरपविार भन्दा पार्वती मेरा लागि अपरिहार्य हुनै सक्दिन । 

म अगाडि सोच्दै गएँ–मानौ पार्वतीले मेरो प्रस्तालाई स्वीकार गरी हामीबीच गहिरो प्रेम सुरु भयो । हामी एकअर्कालाई पाएर एकदमै खुसी भयौँ । समयको अन्तरालसँगै हाम्रो विहे भयो । त्यसपछि बच्चा जन्मियो । पार्वती र त्यो बच्चाको म जिम्मेवार भएँ । दिनरात परिवारको आवश्यकता पूर्ति गर्न परिश्रम गर्दैमा बित्न थाल्यो । आखिर हुने यति नै त हो । 

अझ परिवारको आवश्यकता पूर्ति गर्न नसकेको खण्डमा झै–झगडा, झमेला ! के मैले खोजेको जीवनको सफलता यति नै हो र? अँ हँ अवश्य होइन । विहे गरेर घरपरिवारमा मात्रै सीमित हुनु मेरो जीवनको अन्तिम लक्ष्य कदापी हुन सक्दैन । चाहे मेरो परिवार जतिसुकै सम्पन्न र वैभवशाली होस् । 

आफ्नो र आफ्ना परिवारको स्वार्थका लागि मात्रै सारा जीवन समर्पण गर्ने संसारका अधिकांश मान्छेको जीवनशैली हो यो । म त संसारका अधिकांश मान्छेहरुले  हिड्ने भन्न्दा बेग्लै बाटो हिड्न चाहान्छु । जसमा हिड्ने यात्रुहरु थोरै हुन्छन , किनकी त्यो बाटो एकदमै कठिन हुन्छ । 

माया के हो ? माया यो संसार लाई अल्झाई राख्ने एउटा सञ्जाल रहेछ । यो मायाको सञ्जालभित्र सुख र खुसीका थुप्रै सपनाहरु लुकेका हुँदा रहेछन् । कुनैदिन त्यही प्राप्त गरी आनन्दमा रमाउने आशमा मान्छे हर्दम बाँच्न खोजिरहँदो रहेछ । 

माया भनेको प्रेम र अनुराग मात्रै नभएर भ्रम र छलकपट पनि रहेछ । प्रेम भनेको बढी भ्रम अनि कम वास्तविकता रहेछ । 

मैले किन पार्वतीलाई यति धेरै माया गर्न थालेँ ? ‘हो, मैले उसलाई सधै मायाको दृष्टिकाणले हेरेँ । आफ्नो धेरै नजिकको सम्झेँ र त्यही भावनाको विकास गर्दै मनमा अनेकौँ सपना साँच्न थालेँ । त्यसैले ऊप्रति यति धेरै आकर्षित भएको रहेछु । वास्तवमा पार्वती मेरो जिन्दगीको यात्रामा भेटिएकी एउटा पात्रबाहेक कोही होइन रहिछ । यदि मैले उसलाई आजै देखि घृणाको भावले हेर्दै गएँ भने कालान्तरमा म उसलाई यति घृणा गर्न थाल्नेछु की जति अहिले माया गर्छु ।’

धेरैथरीका प्रश्नोत्तरका लहर मनमा चल्न थाले । हरे ! म कस्तो मूर्ख रहेछु ।  एकजना केटीबिना सारा जीवन अन्धकार देख्नु ठूलो भुल रहेछ । बेक्कारमा यत्रो दिन झोक्राएर बिताएँ । एक जनाको मायाबिना जीवन अधुरो हुन्छ भन्नु एउटा भावना मात्रै रहेछ । मलाई माया गर्ने मेरो घर परिवार छन्। अन्य साथीसंगी छन् । गुरु÷गुरुमा, आफन्तहरु थुप्रै छन् । 

माया, पे्रम र घर व्यवहारमा मात्रै आफूलाई सीमित राख्नु जिन्दगीको सही बाटो भुल्नु हो । त्यसैले म आजैदेखि प्रण गर्छु । कुनै एक जना व्यत्तिको मायाका लागि जिन्दगीको बाटो नै परिर्वतन गर्न लाग्ने छैन । जबसम्म मान्छे अन्धो  मायाको सञ्जालबाट मुक्त हुन सक्दैन तब सम्म ऊ जिन्दगीको महान यात्रामा अबरोध झेल्न विवस हुन्छ । मनभित्रका तर्क–बितर्कले एउटा नौलो निष्कर्ष निकाल्यो । 

म अघिको राजु थिएँ केबल शरीर र बाहिरी रुपले मात्रै तर भित्री रुपमा बेग्लै थिएँ । पार्वती आफ्नो भइन भनी सम्झेर रुने राजु होइन, पार्वती भन्ने केटी जिन्दगीको यात्रामा भेटिएकी एउटी पात्र मात्रै हो भनेर विश्लेषण गर्ने राजु थिएँ । 

उठेर बत्ती बाली भित्ताको घडीमा आँखा पु¥याएँ । बिहानको पाँच बजेछ । शरीरमा नौलो उत्साह छायो । उठेर बाहिर गई दिसा–पिसाव गरी हातमुख धोएर सरासर कोठामा आई पुस्तक पल्टाएर गृहकार्य गर्ने प्रयत्नमा लागेँ । 

परिवारका नजरमा म हिजो जस्तै थिएँ । उनीहरुलाई के थाहा म हिजो–अस्ति भन्दा धेरै खुसी छु भनेर । म भन्न पनि सँिदनथेँ किन म खुसी छु । त्यसदिन नयाँ उत्साहका साथ स्कूल गएँ । जीवनका अन्य दुःखहरु त छँदै थिए । 

त्यसको दुई–तीन दिनपछाडि स्कूलबाट घर फर्कदा चुपचाप सुशिलाले एउ्टा कागज मेरो हातमा राखीदिइ यो के हो? भनेर मैले सोध्न तिर नलागी खुसुक्क खल्तीमा हालेँ किनकी सुशिला र मेरो अगाडि थुप्रै साथीहरू थिए । म उनीहरुले फर्केर नहेरुन भन्ने चाहान्थेँ । नयाँ सोचमा पुगिसकेको मनमा फेरि कौतुहलको लहर चल्यो तर त्यो पत्रमा जेसुकै भए पनि मेरो सोच परिर्वतन हुनेवाला थिएन । घरमा आएर पढ्न थालेँ जसमा लेखिएको थियो ....  

  मेरो प्यारो राजु यो पीडित करुणाको नमस्कार 

   तिम्रा लागि खासै भन्नु त केही पनि थिएन । कनकी म तिमीसामु बिरानु भइसकेको छु । तिमीले पार्वतीलाई पत्र पठाएको कुरा थाहा पाएँ । तिम्रो मायालाई पार्वतीले अस्वीकार गरेपछि देखिएको तिम्रो अवस्थाले मलाई सोच्न बाध्य गरायो । तिम्रो अनुहारको भाव देखेर साह्रै दया लाग्यो तर यो कुरा याद गर, जति पार्वतीको कारणले तिमी दुःखी  भयौ, त्यो भन्दा कयौ गुणा बढी म तिम्रो लागि तड्पिएको थिएँ । हुन त पार्वती धनीकी छोरी उसको तुलनामा म अयोग्य छु होला । यदि पार्वतीकै कारणले मेरो मायालाई अस्वीकार गरेको भए म अझै पनि तिम्रै हुँ, म तिमीलाई यति धेरै माया गर्छु की जति आकाशले उचाइलाई र समुँद्रले गहिराइलाई माया गर्छ ।  तिमीसँग प्रेमको नाता जोडेर तिम्रो सुख दुःखमा साथ दिन जहिले पनि आतुर छु । कृपया मेरो मायाको गहिराइ बुझीदेउ यो पागल प्रेमी प्रतीक्षा गरिरहने छे ।    

उहि तिमीलाई  हृदयदेखि नै चाहाने 

करुणा 

‘करुणा साच्चै पार्वतीलाई भन्दा म तिमीलाई नै धेरै माया गर्छु किनकी तिमीले मलाई गरेको अपार मायाको बदलामा तर कुन्नी किन हो । कसैलाई  जिन्दगी भरिको लागि आफ्नो बनाई उसैको मायामा मात्रै रमाएर बस्ने सोच धेरै टाढा हराएर गएको छ । मायामा योग्य र अयोग्यताको निर्धारण धनी र गरीब हुनुले गर्दैन । माया, प्रेम भनेको थोरै वास्विकता र धेरै भ्रम रहेछ । म र मेरो मायाबाहेक तिम्रो जिन्दगीमा अरु धेरै कुरा छन्, जसबाट तिमी खुसी र सुखी हुन सक्छौ। यस्तै–यस्तै कुरा लेखेर उसलाई पत्रको जवाफ पठाउँछु भनेर सोचेको थिएँ । खै किन हो मेरो सोचाइ पुरा हुन सकेन ।  

मनमनै सोचेँ, ‘म कुनै पार्वती र करुणाबिना नै बाच्न सक्छु । यदि प्रेम नभई नहुने तत्व रहेछ भने पार्वती र करुणाबाहेक जिन्दगीको यात्रामा भेटिने अरु नै सँग मायाको साइनो गाँसौला । करुणाले जतिकै माया गर्ने कोही भेटियो भने, नत्र कसैसामु प्रेमका लागि विनम्रअनुरोध गर्नेछैन । यो मेरो दृढ अठोट हुनेछ ।  

जिन्दगीको बाटोमा कयौ पार्वती र करुणा भेटिन सक्छन् उनीहरुको मायामा अल्झिएर मेरो जिन्दगीको महान यात्रा नरोकियोस् । कसैको मायाले जिन्दगीको यात्रामा थप उर्जा मिल्छ भने त्यसको माया मात्रै मेरा लागि स्वीकार्य हुनेछ । नत्र मेरो जिन्दगीको यात्रा एक्लै अगाडि बढ्नेछ ।’ 

 बिगतबाट मन वर्तमानमा प्रवेश गर्छ । बिगतका ती घटना सम्झेर आफूले आफैँलाई विश्वास गर्न गाह्रो हुन्छ । के म त्यही व्यक्ति थिएँ, जो एउटा केटीको माया नपाएर तड्पी–तड्पी रोएँ ? धत् त्यो त एउटा भावना मात्रै रहेछ । तर म मात्रै होइन आफूले रोजेको मान्छे नपाउँदा जिन्दगी बर्वाद गर्ने मान्छेहरुको ठूलो लाम अहिले पनि उत्तिकै देख्न सकिन्छ । त्यतिखेरको मेरो कलिलो मनको धारणा सम्झेर भित्र–भित्रै अनौठो लागेर आउँछ ।

आज मलाई पार्वतीप्रति कुनै गुनासो छैन । लाग्छ ऊ आफ्नो दुनियाँमा धेरै–धेरै खुसी छ । सायद उसले मलाई सम्झन पनि छाडी होला । एउटै कुराले मनमा घोचिरहन्छ करुणाले मसँग धेरै चित्त दुखाइ होला ? मलाई धेरै गाली गरि होला ?

त्यतिबेला उसको मायालाई स्वीकार गरेको भए, उसले अहिलेसम्म मलाई उत्तिकै माया गरिरहन्थी त्यसको पनि कुनै निश्चितता थिएन । करुणाले पनि रमाउने आफ्नै संसार बनाइसकी होला सायद।

    समय परिवर्तन भए पनि मेरो कलिलो मनले गरेको अठोट आजसम्म परिर्वतन भएको छैन । वास्तविक जीवनको सफलता भनेको माया प्रेम र पारिवारिक बन्धन भन्दा बाहिरै हुन्छ । माया कम वास्तविकता र धेरै भ्रम हो । 

मेरो बिचारलाई नयाँ बाटोमा मोडिदिएकोमा साथी पार्वतीलाई बिशेष धन्यवाद दिन मन लाग्छ । यो दुखीप्रति करुणाले दर्शाएको अपार माया मनमा अमीट भएर बसी रहेको छ । यो घटनालाई नजिकबाट नियाल्ने मेरी सबैभन्दा मिल्ने साथी सुशिलालाई स्मरणका अवयवहरुले अमर बनाएको छ । संसारभरि दौडिएको मन एकत्रित भई शरीरको कुनै भागमा विलाएको अनुभव हुन्छ । स्मृतिका पन्ना वन्द गरी मन दैनिक कार्यमा तल्लीन हुन्छ र मनको संसार बदलिन्छ। 

     २०६३  साल






No comments:

Post a Comment

KEDAR GAUTAM

authorHello, my name is Jack Sparrow. I'm a 50 year old self-employed Pirate from the Caribbean.
Learn More →



Follow Us

Labels