Menu

शहरका नौला खेतीवालहरू

-केदार गौतम

खाँटी किसानको छोरो भएको हुनाले बालीनाली, बीउ, वेर्ना र अन्न-अनाजको खेतीको बारेमा प्रसस्त जानकार पक्कै छु। शहर पसेर एक दशक बिताउँदा यतातिर पाइने एकखाले नौला खेतीवालहरूको बारेमा पनि धेरथोर जानकार हुने मौका मिल्यो।  यी दुईबीचको विशेष भिन्नता यो होकी, बाली बेर्नाका खेतीवालहरू खुल्ला जमिनमाथि खेती गर्छन, माटोमाथि खेती गर्छन्। शहरका यी नवखेलीवाहरू मान्छे र मानव वस्तीमाथि खेती गर्छन्। 

ती असभ्य (नव खेतीवालहरूको नजरमा) गाउँले खेतीवालको जस्तो माटोमा लडिबुडी गर्नु, उब्जनी गर्नु, आफ्नो परिवार पाल्नु. कित उब्जनीको बेचबिखन गरी पैसा जम्मा गर्नु, यति सीधा र तुच्छ उद्देश्य शहरका नयाँ खेतीवालहरूको किन हुन्थ्यो ? 

अन्याय अत्यचारमा परेकाहरूको पक्षमा लड्नु, प्रकोप र विपदमा परेकालाई सहायता गर्नु,  हिंसा र द्वन्द्वको चपेटामा परेकाहरूको सुरक्षा र उद्धार गर्नु, भेदभाव र उत्पीडनमा परेकाहरूको चासो र चिन्ता गर्नु, असहाय र वेसाहाराहरूको जीवनमा सहायता पुर्‍याउनु, यति महान उद्देश्य बोकेका नवखेतीवालहरूसँग ती नाथे पाखे हली, गोठालाहरूलाई कसरी दाज्न मिल्छ?

परम्परागत खेतीवालहरू धर्तीको माटो कोट्याँछन अनि बीउ वेर्ना रोप्छन, मलजल गर्छन्, समय आएपछि तिनले फल दिन्छन्। त्यहि फल नै उनीहरूको ज्यूने आधार हो, दुखजिलो जीवन धानिरहेका हुन्छन्। 

नव खेतीवाल समाजभित्रको पीडा, व्यथा, अन्याय वेथितीहरू कोट्याउँछन, अनि त्यहि कुरा प्रदर्शन गरेर  दाताहरूको मन पगाल्छन्, त्यसमाथि दाताहरूले द्रव्य वर्षा गर्छन्। त्यही द्रव्यले जीवन सानदार तरिकाले व्यथित गरिरहेका हुन्छन्।

विभिन्न खाले दुर्घटना प्राकृतिक प्रकोपले सताइएका, कु-संस्कार र कुरीतिले गाँजेको,  हिंसा र अमानवीय व्यवहारले व्याप्त, द्वन्द्वग्रस्त अनि बेमेल र व्यथितीयुक्त समाज नवखेतीवाहरूको उर्वर भूमि हो।

खनजोत गोडमेल गर्नु , खेतबारीको माटोमा लुटुपुटु गर्नु परम्परागत खेतीवालको  दिनचर्या भएझैँ । समाजभित्रका कारुणिक क्रन्दनहरूको, व्यविचार र अन्यायहरूको, हिसां, द्वन्दका घटनाको अभिलेख राख्नु र तीमध्ये विकाउ खालका कुरालाई छानेर द्रव्यदातासमक्ष पेश गर्नु, अनि दाताहरूको स्वार्थ अनुकूल गतिविधिमा लिप्त हुनु नवखेतीवालहरूको दिनचर्या हो।

परम्परागत खेतीमा खनजोत, गोडमेल, मलजल गरेर माटो जति मलिलो र खुकुलो हुन्छ त्यही अनुसारको उब्जनी भएझैँ। समाजभित्रका दुःख, वेदना वेथिती, बेमेल हुन वा हिंसा, द्वन्दका घटना ! यीनलाई जति दर्दनाक र कारुणिक ढङ्गबाट दातासमक्ष प्रस्तुत गर्न सक्यो उति नै धेरै बिक्रीयोग्य हुन्छन्। त्यहाँभित्रको विभत्सता र कारुणिकताको मात्राले उनीहरूको खेती कति फलदायी हुन्छ ? भन्ने कुराको निर्धारण गर्दछ।

सभा, समारोह, गोष्ठी, भेलाका अवसरमा होस् वा सञ्चार माध्यमका सम्मुखमा यिनीहरू फलाक्न सुरु गरिहाल्छन् ‘दुःख पीडामा भएकाहरूलाई हर्दम सहायता गर्नुपर्छ सामाजबाट वेथिती र कु-संस्कार हट्नुपर्छ, समाजमा न्याय र समानता हुनुपर्छ, मानव अधिकारको पालना हुनुपर्छ, शान्ति र अमन चयन कायम हुनुपदर्छ ।’

 वास्तविक अर्थमा न यिनलाई कुनै मान्छेको मानव अधिकारको चिन्ता हो न कसैको दुःख र विपदमाथि ? न असमानता र अशान्तिको चिन्ता हो ? न कुनै द्वन्द्व वा हिंसामा मारिएका नाथेहरूको पीडामाथि चासो हो ! उनीहरू त समाजभित्रका यस्ता घटनाहरू देखेर मनमनै खुसीले पुलंकित भइरहेका हुन्छन्, सोचिरहेका हुन्छन् ‘धन्न असमानता र अत्याचार यो समाजले झेलिरहेको छ र मेरो आवादी सप्रिरहेको छ। थुप्रै मान्छेहरू आधारभूत मानव अधिकारबाटसमेत वञ्चित छन र त मेरो जीवन भरिभराउ छ। 

धन्न कसैले लडाइ, भिडन्त गरी जीवन गुमाइदिएको छ र त त्यसको नाममा दातासँग मनग्य द्रव्य झारी त्यही द्रव्यले ऐस आरामयुक्त जीवन पाइरहेको छु, धन्न प्राकृतिक प्रकोप र विपदहरूले मान्छेहरू सताइएका छन् र त मेरो सुदको आधार छ।’ यस्ता खेतीवालको भित्रि मनसाय यो भन्दा विलकुल फरक देखिँदैन।

यस्ता खेतीवालमाथि द्रव्य वर्षाउने दाताहरूका संसारका दरिद्र, पीडित र समस्याग्रस्त समाजमाथि आ-आफ्नै किसिमका राजनीतिक, आर्थिक, सामाजिकरुपमा प्रभाव जमाउन विभिन्न खाले स्वार्थहरू लुकेका हुन्छन्। समाजसेवा र लोक कल्याणको आवरणभित्र लुकेर दाताका स्वार्थहरू लागू गर्न यी खेतीवालहरू हरदम गतिविधि गरिरहेका हुन्छन्।

मानवहीत, समाजसेवा, शान्ति समृद्धिको कुरा गरेर कहिले नथाक्ने उनीहरू आफूलाई समुदायको अब्बल दर्जाको मानव कहलाउन लागिपरिरहेका हुनछन्। यिनीहरूको वास्तविक अनुहारसँग अपरिचित भएकाहरू र यिनीहरूको खेतीको लाभ अलिअलि चाटचुट पार्न पाएकाहरूबाट प्रशस्त सम्मान पनि प्राप्त गरिरहकै हुन्छन्।

कथम कदाचित समाज वेथितीबाट थितीतिर जान थाल्यो भने, द्वन्द्व र भद्रगोलबाट शान्ति र स्थायित्वतर्फ उन्मुख भयो भने, समाजमा साँच्चिकै न्याय र मानवअधिकारको परिपालना हुनथाल्यो भने यी नवखेतीवालहरू यसरी आत्तिन्छन् कि-जसरी बाली पाकेका वेला हावाहुरी चल्दा, असिना पर्दा किसान आत्तिने गर्छ। उनीहरू मनमनै यसरी पितोरिन्छ जसरी लैनो गाईभैंसीले दुध नदिएर लात हान्दा एउटा पशुपालक किसान पितोरिने गर्छ।

तसर्थ  घुमाउरो तरिकाबाट समाज तथा राज्यमा  असमाता र वेथितीका, द्वन्द र अशान्तिका, विसमता र अनेक खाले महामारीका बीउहरू निरन्तर रोपिरहेका हुन्छन्। मान्छेलाई सबल, सक्षम नभई दुर्वल र परनिर्भर बनाउँदै अदृयरुपमा कसैको दासता लाद्ने र चीरकालसम्म समाजलाई समस्याका जञ्जिरभित्र अल्झाइरहन उद्धत देखिन्छन् यी शहरिया नौला खेतीवालहरू। समाजमा आफूलाई सान र मान दिएको, जीवनलाई ऐस आरामले वेथित गर्न सघाएको खेतीलाई जानाजान मास्न कोही लागि पर्दो हो ?

अन्तर-कुन्तरतिर बसेर दाउ हेरिरहेका उनीहरू नियमित आन्दानी दिइरहेको आफ्नो खेती मासिने त्रास भयो भने वा  खेतीमा थप लाभ प्राप्त हुने सम्भावनाका मार्गहरू देखेपछि सलबलाउन थालिहाल्छन्।

२०७२ साउन

No comments:

Post a Comment

KEDAR GAUTAM

authorHello, my name is Jack Sparrow. I'm a 50 year old self-employed Pirate from the Caribbean.
Learn More →



Follow Us

Labels