हिजो (असोज ३/२०७७) बिहानैदेखि धेरैले मेरो नाम लिइरहेका छन् । मेरो नाम जोड्दै विभिन्न व्यक्तिहरूलाई बधाई दिनेको लहर चलिरहेकै छ । त्यो भन्दा धेरै बढी मेरो नाममा व्यङ्ग्य, खिसीट्युरी, हँसिमजाक चलिरहेको छ । त्यो कोप्रति लक्षित हो बुझ्ने ल्याकत ममा छैन । तर मेरै नाम लिएपछि लागिरहेको छ, तिनीहरूले मलाई नै उडाइरहेका छन्। यो देखेर निकै पिरोलिरको छु । म निर्दोषमाथि किन यति धेरै प्रहार ? कति न म आफू खुसी गएर थुपुक्क कसैको गलामा बसेजस्तो।
हामी (पदक, अलंकार, मानदवी)हरूलाई सयौं वर्षदेखि यसरी नै त बाँडिँदै आइएको थियो । दिवस वा समारोहका नाम फेरिए, शताब्दी, दशक फेरिए । मलाई बाँड्ने, पाउँने मनुष्यहरू फेरिए, त के भो ? तरिकाहरू उही छैनन् र ? छनोटका मापदण्ड तिनै हैनन् र ? अनि के अहिले चाहिँ प्रलय नै भयो ? नत्र किन हल्लीखल्ली ? हामी निम्छराहरूको मानमर्दन किन ?
हो, मेलै पनि ठानेको थिएँ हुकुमी तन्त्रमा जसरी मेरो दुरुपयोग भयो, प्रजातन्त्रमा हुनेछैन । तर, जे नहुने पर्ने त्यही भयो । गणतन्त्रले पक्कै ममाथि न्याय गर्ला, यही सोचेको थिएँ । अपशोच ! राजा, राणा, पञ्चायतको हुकुमीशैलीभन्दा दुई कदममाथि उठेर गणतन्त्रले मेरो हुर्मत लिइरहेको छ । सायद ती हुकुमी शैलीमा बाँडिएका मेरा पुर्खा (पदक) हरू पनि यो देखेर लज्जाबोध गरिरहेका होलान्।
दराज, सोकेसमा थन्किएर, धुलोले छपक्कै ढाकिएर भित्तामा पिङ खेल्दै आफ्ना सन्ततीको पनि आफ्नोजस्तै दुर्गती देखेर मन अमिलो बनाइरहेका होलान् ।
मैले देखिरहेको छु । सूचीमा साँच्चै मलाई प्राप्त गर्न योग्यहरू पनि हुनुहुन्छ । तर, न्यून संख्यामा । सूचीमा आफ्ना अलगबगलका नाम देखेर उहाँहरूलाई पनि उकुसमुकुस भइरहेको छ । शीर ठाडो बनाएर पदक उपाधि आत्मसाथ गर्न सकिरहनु भएको छैन । म आफैँलाई असजिलो महसुस भइरहेकै छ नि तर विवस छु म ।
सक्ने भए म ती अयोग्यहरूका गलाबाट बुदु्रक्क हाम फालेर बिद्रोह गर्थेँ । देख्नेलाई नै लाज लाग्ने गरी मेरो बाँडचुड गर्नेहरूको अगाडि उभिएर औँला ठड्याउथेँ । साँचिकै योग्यहरूका गला र छातिमा गएर टक्रक्क बस्थेँ । म प्राणहीन र विवेकहीन वस्तुमा त्यो क्षमता कहाँ छ र ?
उच्च पदस्थ र घगडान शक्तिशालीहरूको निर्णय, आदेश अवज्ञा गर्ने हिम्मत कसरी आओस् ?
थाहा छ, वर्षमा एक दुई पटक यस्ता दिवस, समारोह आइरहन्छन् । यही तरिकाले हाम्रो हुर्मत लिइनेछ । अनि अहिले जसरी नै हाम्रा नाममा खिसीट्युरी र हँसीमजाकले बजार तताउनेछन् । हो, हामी पनि लज्जित छौं, तर महोदयहरू यति सारो हाम्रो ‘बिल्ला’पनि नगरौँ किनकि हामी निरीह र विवश छौँ ।
असोज ४, २०७७ आइतबार Farakdhar.com मा प्रकाशित
No comments:
Post a Comment